जुम्लाबाट राजापुर हिँडेका ३९ मजदुरको दैलेखबाट उद्धार

लामो समयसम्म लकडाउन भएपछि खान र बस्न समस्या भएको भन्दै जुम्लाबाट पैदल यात्रा गरेर बर्दियाको राजापुर पुग्ने लक्ष्य लिएर पैदल हिँडेका राजापुर नगरपालिकाका ३९ जना थारु समुदायका कामदारलाई दैलेखबाट उद्धार गरिएको छ ।
दैलेखको सिमानामा आउँदै गरेको खबर सुर्खेतका पत्रकार दीपेन्द्र ओलीले दैलेखका पत्रकार विष्णु शर्मालाई दिएसँगै पत्रकार विष्णु शर्माले विभिन्न निकायहरू सँग समन्वय गरेका थिए ।
दैलेखमा रहेको लायन्स क्लबमा आबद्ध व्यक्तिहरूले बटुवाका लागि सञ्चालन गरेको मेसमा खाना खुवाएर दैलेखबाटै सवारी साधन मार्फत राजापुरका लागि पठाइएको दैलेखका प्रहरी प्रमुख हरीबादुर ओलीले जानकारी दिएका छन् । राजापुर नगरपालिकाका मेयर शिव प्रसाद थारुले यातायात बापतको रकम चालकलाई बर्दिया पुगेर भुक्तानी दिनेगरी दैलेखबाट उनीहरूको उद्धार गरिएको हो ।
पत्रकारहरुले थाहा नपाएको भए आफूहरू हिँडेरै भोकभोकै बर्दिया पुग्नुपर्ने अवस्था हुनेथियो, साथीहरू हिँड्न नसक्ने अवस्थामा थिए, धेरैको खुट्टा फुटेको थियो । पत्रकारले सबैलाई जानकारी गराइदिएका कारण आफूहरूको उद्धारमा सहयोग भएको पैदल हिँडेर आएका शिवप्रसाद थारुले जानकारी दिएका छन् ।
लायन्स क्लब दैलेखमा रहेका सदस्यहरुले व्यक्तिगत रुपमा १ हजार ५ सय रकम संकलन गरेर बटुवालाई खाना खुवाउने अभियान सुरु गरेको र अहिलेसम्म २ सय बढीलाई खाना खुवाएर गन्तब्यमा पठाएको दैलेखका अध्यक्ष नरेन्द्र के.सि.ले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार